Tuesday, October 8, 2013

सुत्केरी हुन जापानबाट कास्कीमा


काठमाडौचापाकोट (कास्की), आश्विन २२ - उनी जापानमा बस्छिन् । त्यहाँ सुत्केरी हुन गुणस्तरीय सेवा नहुने कुरै भएन । तर हिरोमी ताकाहासी भने सुत्केरी हुनकै लागि यहाँको स्थानीय उपस्वास्थ्य चौकीमा आइन् । गत भदौ २४ गते चौकीका अनमीद्वय कमला थापा र सरस्वती रानाले ताकाहारीको सुरक्षित सुत्केरी गराए । छोरी जन्मिन् । 'कमला दिदीको अनुभव, क्षमता र ज्ञानबाट प्रभावित भएर जापानको सुविधा छाडेर सुत्केरी हुनका लागि मात्रै आएँ,' ताकाहासीले भनिन्, 'यहीँ सुत्केरी हुने इच्छा पूरा भएकोमा खुसी छु ।' ४ वर्षअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग -जाइका) को स्वयंसेविका भएर आएका बेला स्वास्थ्यकर्मीसँग हिमचिम बढेको र सेवाप्रतिको इमानदारीले प्रभावित भएको उनले बताइन् । जापानमा अत्यधिक मात्रामा विभिन्न उपकरणको प्रयोग हुने तर यहाँ भने हातबाट गराउने भएकाले आएको उनले थपिन् ।  
चापाकोट उपस्वास्थ्यचौकीले 'बर्थिङ सेन्टर' सञ्चालनमा ल्याएपछि यस क्षेत्रका सेवाग्राहीलाई ठूलो सहयोग पुगेको छ । कास्कीका २२ बर्थिङ सेन्टरमध्ये बढी सुत्केरी हुनेमा यो परेको छ । २०६६ साउनबाट सुरु केन्द्रमा भदौरेतामागी र कास्कीकोट गाविसवासीले समेत सेवा पाएका छन् । केन्द्रबाट हालसम्म झन्डै दुई सय जनाले सुत्केरी सेवा लिइसकेका छन् । गत भदौमा मात्र ११ जनाले सेवा लिएका थिए । 'विशेषगरी न्यून आय भएका सेवाग्राही आउने गरेका छन्,' अनमि कमला थापाले भनिन्, 'सुत्केरी कक्ष बनाएर आवश्यक उपकरणको व्यवस्था गरेपछि सेवाग्राही आउँदैनन् कि भन्ने लागेको थियो तर अहिले सबैभन्दा बढी आउन थालेपछि हामीलाई पनि खुसी लागेको छ ।' चौकीमा आपत्कालीन बत्तीको व्यवस्थासमेत गरिएको छ ।
'चौबीसै घन्टा सेवा दिन्छौं,' चौकी इन्चार्ज गोपालचन्द्र बरालले भने, 'दिनरात नभनी सेवा दिने भएकाले सेवाग्राही आकषिर्त भएका हुन् ।' उनले यहाँ असम्भवलाई पोखरा रिफर गरिने बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत बद्रीराज आचार्यले चापाकोटमा बढी सुत्केरी हुने बर्थिङ सेन्टर रहेको बताए । 'कर्मचारीको मेहनत र गुणस्तरीय सेवा प्रमुख हो,' आचार्यले भने, 'सेवाग्राहीको विश्वास जित्न सफल भएको छ ।' यसपटक चौकी इन्चार्ज, अनमी थापा, अहेव इन्द्रप्रसाद सुवेदी तथा चौकी पनि उत्कृष्ट भएर पुरस्कार पाएका छन् । अगुवा महिला पार्वती अधिकारीले स्थानीयको चाहना र चासोले सुत्केरी सेवा सञ्चालनमा आएको बताइन् । 'कच्ची सडकबाट पोखरा पुग्नुपर्दा ढिलो हुने भएकाले आमा र शिशु खतरामा पर्थे,' अधिकारीले भनिन्, 'अहिले भने समयमै कम खर्चमा गुणस्तरीय सेवा पाएका छौं ।' बरालले एउटा नर्सिङ स्टाफ थप र क्वार्टर बनाउन पाए काममा अझै सहजता हुने बताए ।

No comments:

Post a Comment